चितवन। आसन्न निर्वाचन नजिकिँदै गर्दा चितवन जिल्लामा राजनीतिक दल र तिनका उम्मेदवार मतदातासँगको भेटघाटमा व्यस्त बनेका छन्। जिल्लाका प्रमुख दलहरूले सोमबारदेखि घरदैलो, कोणसभा र सभामार्फत चुनावी प्रचारलाई थप तीव्र बनाउने तयारी गरेका छन्।

नेपाली कांग्रेस चितवनका जिल्ला सचिव ध्रुव पोखरेलका अनुसार तीनवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय प्रचार कार्यालय सञ्चालन गरी विधिवत रूपमा घरदैलो कार्यक्रम सुरु गरिनेछ। उनले पार्टीका केन्द्रीय सभापति गगनकुमार थापा र केन्द्रीय प्रचार संयोजक देवराज चालिसेसँग समन्वय गरी ठूलो सभा गर्ने तयारी भएको जानकारी दिए।

advertisement

नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका इन्चार्ज देवी ज्ञवालीले सोमबारबाट वडा तहमा घरदैलोसँगै कोणसभा गर्ने कार्यक्रम तय गरिएको बताए। सभामा केन्द्रीय नेताहरूको उपस्थिति रहने सम्भावना रहेको उनले उल्लेख गरे।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य राजन गौतमले पनि सोमबारदेखि प्रचारलाई तीव्र बनाउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार घरदैलो, कोणसभा र बृहत् सभा आयोजना गरिनेछ। अन्य दलहरू—राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायत—ले पनि प्रचार अभियानलाई तीव्रता दिने तयारी गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय चितवन का अनुसार फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा कुल ४ लाख ४२ हजार ८२ मतदाता रहेका छन्। तीमध्ये २ लाख १७ हजार ३१४ पुरुष, २ लाख २४ हजार ७६६ महिला र दुई जना तेस्रो लिङ्गी छन्। मतदाताले १६२ मतदान स्थलका ४९४ मतदान केन्द्रबाट मतदान गर्नेछन्।

कार्यालय प्रमुख भीमसेन कार्कीका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक ३३ हजार ७४० नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र वृद्धि भएका छन्। जिल्लाका तीनवटै क्षेत्रमा दलहरूले टोल तहसम्म पुगेर मतदातालाई रिझाउने रणनीति बनाइ प्रचार अभियानलाई तीव्र बनाउने तयारी गरेका छन्।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com