काठमाडाैं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ।   वेस्ट इन्डिजविरुद्ध नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्‍याए। उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाए। खराब सुरुवातका बीच उनको इनिङ्स नेपालका लागि महत्वपूर्ण सावित भयो। टी–२० विश्वकपमा नेपालका लागि दोस्रो अर्धशतक बनाउने खेलाडी बनेका उनले दश वर्षपछि नेपाली समर्थकलाई विश्वकपमा अर्धशतकको खुसी दिलाए। यसअघि सन् २०१४ को संस्करणमा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए।

advertisement

नेपालको सुरुवात भने निराशाजनक रह्यो। पहिलो ओभरमै कुशल भुर्तेल १ रनमा अकिल हुसेनबाट बोल्ड भए। कप्तान रोहितकुमार पौडेल ५ रनमा एलबिडब्लू भए भने आसिफ शेख ११ रनमा क्याच आउट भए। लगातार विकेट पतन हुँदा ६ ओभरमा नेपाल ३ विकेट गुमाएर २२ रनमा सीमित रह्यो।

सातौं ओभरमा आरिफ शेख २ रनमा आउट भए। त्यसपछि लोकेश बमले १५ बलमा १३ रन जोड्दा विकेटकिपरबाट क्याच भए। गुल्सन झा ११ रनमा बोल्ड हुँदा नेपाल थप दबाबमा परेको थियो।

तर त्यसपछि दीपेन्द्र र सोमपाल कामीबीच महत्वपूर्ण साझेदारी बन्यो। सातौं विकेटका लागि उनीहरूले ५४ रनको साझेदारी गर्दै नेपाललाई १३० नजिक पुर्‍याए। सोमपालले १५ बलमा ४ चौकासहित अविजित २६ रन जोडे। १८औं र १९औं ओभरमा नेपालले तीव्र गतिमा रन जोड्दै खेलमा फर्कने प्रयास गरेको थियो।

अन्तिम ओभरमा दीपेन्द्र आउट भएपछि करण केसी १ रनमा पेभिलियन फर्किए र नेपाल १३३ रनमा सीमित भयो।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए।

यसअघि पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको नेपालका लागि यो खेल जित्न अत्यन्त महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com