एजेन्सी । शनिबार बिहान उत्तरपश्चिम क्षेत्रमा पर्ने नाइजेरियाका तीन गाउँमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले आक्रमण गर्दा दर्जनौं सर्वसाधारणको ज्यान गएको छ।
समाचार एजेन्सी (एएफपी) का अनुसार हतियारधारी समूहले गाउँमा पसेर स्थानीय बासिन्दामाथि अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै केहीलाई घाँटी रेटी हत्या गरेका थिए। आक्रमणकारीहरूले घरहरूमा आगजनी समेत गरेका जनाइएको छ।
घटनाका क्रममा कैयौं व्यक्तिलाई अपहरण गरिएको बताइएको छ। अपहरणमा परेकाहरूको यकिन संख्या भने सार्वजनिक भइसकेको छैन।
शनिबारको आक्रमण यसै महिनाको सुरुआतमा भएको शंकास्पद जिहादी हमलाको स्थान नजिकै भएको हो। उक्त घटनामा १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
नाइजेरियामा ‘ब्यान्डिट’ नामले चिनिने सशस्त्र आपराधिक समूहहरूले लामो समयदेखि गाउँ–बस्तीमा हमला गर्दै हत्या, लुटपाट र फिरौतीका लागि अपहरण गर्दै आएका छन्। पछिल्लो समय विशेषगरी पश्चिमी र मध्य क्षेत्रमा यस्ता हिंसात्मक घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया