एजेन्सी। बेलायत र उसका युरोपेली सहयोगीहरूले रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको मृत्यु डार्ट फ्रग टक्सिनबाट बनेको विष प्रयोग गरेर गरिएको आरोप लगाएका छन्।
साइबेरियाली दण्ड कोलोनीमा नभाल्नीको मृत्यु भएको दुई वर्षपछि, बेलायत र सहयोगीहरूले नभाल्नीको शरीरमा भेटिएका नमूनाहरूको विश्लेषण गरेको रिपोर्टले क्रेमलिनलाई दोष दिएको हो। बेलायतको विदेश कार्यालयले नभाल्नीको शरीरबाट लिइएका नमूनामा एपिबेटिडाइन नामक विष भेटिएको र यसका लागि कुनै सामान्य कारण नभएको उल्लेख गरेको छ।
बेलायती विदेश सचिव यभेट कूपरले म्युनिख सुरक्षा सम्मेलनमा भनिन्, “एलेक्सी नभाल्नी जेलमा हुँदा उनलाई लक्षित गर्न घातक विष प्रयोग गर्ने साधन, उद्देश्य र अवसर केवल रूसी सरकारसँग मात्र थियो।”
बेलायती प्रधानमन्त्री केयर स्टारमरले इन्स्टाग्राममा पोस्ट गर्दै भनेका छन्, “एलेक्सी नभाल्नीले उत्पीडनको सामना गर्दै अपार साहस देखाए। सत्य उजागर गर्ने उनको दृढ संकल्पले स्थायी विरासत छोडेको छ। मेरो प्रार्थना उनको परिवारसँग छ। हामी हाम्रा जनता, हाम्रा मूल्य र जीवनशैलीलाई रूसको खतरा र पुटिनको हत्यारा मनसायबाट जोगाउन जे सकिन्छ, गरिरहेका छौं।”
नभाल्नी भ्रष्टाचार विरोधी अभियानकर्ता र रूसको सबैभन्दा मुखर विपक्षी नेता मानिन्थे। उनको फेब्रुअरी १६, २०२४ मा ४७ वर्षको उमेरमा जेलमै अचानक मृत्यु भएको थियो। उनलाई २०२० मा नोभिचोक नर्भ एजेन्टद्वारा विष दिइएको थियो, त्यसपछि जर्मनीमा उपचार गराइयो र रूस फर्किएपछि विमानस्थलमा पक्राउ गरिएको थियो।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया