सर्लाही। नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आगामी निर्वाचनलाई केवल नियमित चुनावका रूपमा नलिन आग्रह गर्दै यसलाई देशको भविष्य र दिशा निर्धारण गर्ने निर्णायक क्षणको रूपमा हेर्न आग्रह गरेका छन्।
सर्लाही-३ मा आयोजित मतदाता भेटघाट र सम्बोधन कार्यक्रममा श्रेष्ठले मतदातालाई अपिल गर्दै भने, “यो चुनावमा केवल भोट हालेर काम टुङ्गिँदैन, प्रत्येक मतले नेपालको भविष्य निर्माण वा बिगार्ने शक्ति राख्छ।”
उनी थपे कि पार्टीले निरंकुश शासनको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। दलित, जनजाति, महिला, मधेसी, मुस्लिम, किसान–मजदुर र पिछडिएका समुदायका अधिकार सुनिश्चित गर्न संविधानमार्फत समावेशीकरण र समानताको आधार तयार गरिएको उनको दाबी छ।
श्रेष्ठले संघीय प्रणाली लागू भएपछि सरकार केवल केन्द्रमा सीमित नभई प्रदेश, स्थानीय तह र वडा तहसम्म पुगेको र जनताले आफ्नै स्थानबाट सेवा–सुविधा पाउन सक्ने व्यवस्था सुनिश्चित भएको बताए।
भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा उनले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी लगायत मुद्दामा कारबाही अघि बढाइएको बताए। “भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नै पार्टीका नेता–कार्यकर्तासमेत कारबाहीमा परेका छन्,” उनले उल्लेख गरे।
मिटरब्याज पीडितको समस्यालाई पनि गम्भीर सामाजिक मुद्दा भन्दै श्रेष्ठले पीडितलाई न्याय दिलाउन आयोग गठन, कानुनी प्रक्रिया र प्रशासनिक पहल गरिएको जानकारी दिए।
राजनीतिक परिवर्तनपछि मुख्य चुनौती शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा, आवास, खानेपानी, बिजुली, सडक तथा सिँचाइ जस्ता जनजीवनका आधारभूत समस्याको समाधान गर्दै विकास र समृद्धिको दिशामा अघि बढ्नु रहेको उनले बताए।
अन्त्यमा श्रेष्ठले मतदातालाई संविधान, गणतन्त्र, संघीयता, समावेशीकरण र सुशासनको रक्षा गर्ने आफ्नो पार्टीको अभियानमा सहयोग गर्न आग्रह गर्दै सर्लाही-३ का मतदातालाई पार्टीको चुनाव चिन्ह तारा मा मतदान गर्न अपिल गरे।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया