काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा बढ्दो जनमत र परिवर्तनको अनुभूति जनाउँदै आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवारहरूलाई कांग्रेसमा स्वागत गर्दै उपसभापति शर्माले देशभरको माहोल कांग्रेसको पक्षमा थप बलियो हुँदै गएको बताएका हुन्। उनले भने, “आगामी प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा कांग्रेसप्रति जनताको उत्साहपूर्ण विश्वास बढ्दो छ। अहिलेकै अवस्थामा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने स्थितिमा छ।”

advertisement

शर्माले आफ्नो पार्टीलाई “जेन-जी मुभमेन्टपछि नयाँ भएको कांग्रेस” भन्दै नयाँ खोज र परिवर्तन चाहने जनताको अपेक्षालाई सम्बोधन गर्दै आएको बताए। उनी भन्छन्, “कसैले आफैँलाई बदल्न सक्दैन, तर आफूलाई बदल्न सक्नेले देशलाई पनि परिवर्तन गर्न सक्छ। यही विश्वासका साथ कांग्रेसले जनताको भरोसा जित्दै अघि बढिरहेको छ।”

चितवनबाट सुरु भएको यात्रा पश्चिमका जिल्लाहरू हुँदै काठमाडौँ फर्केका शर्मा भन्छन् कि पार्टीमा समाहित हुनेहरूको संख्या दैनिक वृद्धि भइरहेको छ र कांग्रेस अब पहिला भन्दा धेरै बलियो बनेको छ। उनले थपे, “हामी हल्लामा नआई जरा बलियो बनाउँदै अघि बढिरहेका छौं। नेताकार्यकर्ता र आम जनताको समर्थनका कारण पार्टी बलियो हुँदै गएको छ।”

विशेष महाधिवेशनपछि परिवर्तन आएको कांग्रेसले आफूलाई अब्बल साबित गर्दै आएको छ। आगामी बुधबार ६ फागुन, पार्टी जनकपुरधामबाट आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने तयारीमा छ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com