काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था रहेको छ।

सोही प्रावधानअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्। यस अवधिमा दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।

advertisement

आयोगले निर्वाचनको निष्पक्षता र मर्यादालाई उच्च प्राथमिकता दिँदै आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ। आचारसंहिता उल्लङ्घन भएको पाइएमा सम्बन्धित दल वा उम्मेदवारलाई स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाहीसमेत गरिने आयोगले स्पष्ट पारेको छ।

आयोगका अनुसार आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षहरूसँग व्यापक परामर्श गरेर तयार गरिएको हो र सबै दलहरूले यसको पालना गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता नीति अपनाएको जानकारी दिनुभयो। उल्लङ्घनको प्रकृति हेरी सचेत गराउने, जरिवाना गर्ने वा उम्मेदवारी खारेजसम्मको व्यवस्था रहेको छ।

यसैगरी, दल तथा उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गरेर प्रचार गर्न सक्नेछन्। आमसभा तथा कोणसभा आयोजना गर्दा मञ्च व्यवस्थापनमा भएको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ।

निर्वाचनको समयमा कुनै दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले जनाएको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com