काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का उम्मेदवार श्रीनिवास यादव नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रवेश गरेका छन्। उनले प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।
यद्यपि यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि प्राविधिक कारणले उनको उम्मेदवारी औपचारिक रूपमा रद्द भने हुँदैन। यसअन्तर्गत मतपत्रमा उनको चुनाव चिह्न यथावत् रहनेछ। तर उनले आफ्ना समर्थक तथा मतदातालाई एमालेका पक्षमा मतदान गर्न आग्रह गर्ने संकेत गरेका छन्।
यादवले जसपा नेपालको साधारण सदस्यता तथा सबै जिम्मेवारी परित्याग गर्दै राजीनामा दिएको जानकारी दिएका छन्। वर्तमान राजनीतिक परिस्थितिमा देशलाई स्थायित्व र निकास दिन सक्ने प्रमुख शक्ति एमाले नै भएको विश्वासका साथ आफू सो पार्टीमा आबद्ध भएको उनले बताएका छन्।
रूपन्देही–३ मा एमालेका तर्फबाट वासुदेव घिमिरे उम्मेदवार रहेका छन्। यादवको समर्थनले उक्त क्षेत्रमा चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने विश्लेषण गरिएको छ।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया