झापा। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा असन्तुष्ट मतदातालाई मनाउने प्रयासमा सक्रिय भएका छन्।

सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको बढ्दो प्रभावपछि ओलीले आफ्नो चुनावी रणनीतिमा परिवर्तन गरेका हुन्। अघिल्ला निर्वाचनमा स्थान–स्थानमा सभा गरेर सम्बोधन गर्ने गरेका ओली यसपटक भने घरदैलो अभियानमा केन्द्रित देखिएका छन्।

advertisement

समर्थकसहित टोल–टोलमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्दै गुनासा सुन्न थालेका छन्। यसअघि देशव्यापी कार्यक्रममा सक्रिय रहने ओली अहिले भने आफ्नै निर्वाचन क्षेत्रमा बढी समय दिन थालेका छन्।

घरदैलोका क्रममा मतदाताले पटक–पटक जिताए पनि अपेक्षित विकास नभएको र समस्या पर्दा भेट्न नपाएको गुनासो राख्ने गरेका छन्। आइतबार शिक्षकहरूसँगको भेटमा पनि आन्दोलनका माग पूरा नभएको विषय उठाइएको थियो। जवाफमा ओलीले तत्काल पूरा गर्न नसकिएका मागबारे छलफल र सहमतिबाट समाधान खोज्नुपर्ने धारणा राख्दै शिक्षा ऐन तयारी अवस्थामा रहेको बताए।

धिमाल समुदायसँगको भेटमा उनले समुदायको संरक्षण र प्रवर्द्धनका लागि आफ्नो नेतृत्वमा भएका कामको चर्चा गरे। दमकमा मुस्लिम समुदायका अगुवासँग छलफल गर्दै उनले मदरसा शिक्षक दरबन्दी, दाहसंस्कार स्थलको अभाव तथा प्रतिनिधित्वसम्बन्धी मागप्रति सकारात्मक रहेको बताए।

फागुन ६ गतेसम्म आफ्नै निर्वाचन क्षेत्रमा रहने ओली विभिन्न वडामा आयोजना हुने कार्यक्रममा सहभागी भई मतदातासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको छ। हाल उनी मतदाताको विश्वास कायम राख्न सक्रिय रूपमा अभियानमा जुटेका छन्।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com