काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाहले काठमाडौँको फोहोर व्यवस्थापनमा अन्तर्राष्ट्रिय स्तरसम्मको चलखेल हुने गरेको दाबी गरेका छन्।
सोमबार बिहान झापा–५ का मतदातासँगको संवाद कार्यक्रममा उनले काठमाडौँको फोहोर तथा सुकुम्बासी व्यवस्थापनका विषयमा गम्भीर चुनौती रहेको उल्लेख गर्दै त्यसमा बाह्य प्रभावसमेत सक्रिय रहेको बताएका हुन्।
उनले भने, “काठमाडौँ महानगरमा कुन हदसम्मको अन्तर्राष्ट्रिय चलखेल थियो भन्ने कुरा तपाईंहरूले कल्पना गर्न पनि सक्नुहुन्न। महानगरको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीपूर्ण छैन।”
सुकुम्बासी व्यवस्थापन र फोहोर व्यवस्थापनको अनुभवले आफूलाई त्यस्तो अनुभूति गराएको उनको भनाइ थियो। बालेनका अनुसार काठमाडौँका कतिपय सुकुम्बासी बस्तीमा बस्नेहरू वास्तविक सुकुम्बासी नभई राजनीतिक दलद्वारा संरक्षित तथा परिचालित व्यक्तिहरू पनि रहेको दाबी गरे।
एक सातादेखि मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा चुनावी भ्रमण गरेका शाह सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ फर्किएका हुन्। फर्किएलगत्तै उनले बिहानैदेखि घरदैलो अभियान सुरु गरेका छन्।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया