झापा। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिसम्बन्धी आफ्ना धारणा र योजनाहरूलाई राजनीतिक प्रतिद्वन्द्वीहरूले जानाजानी हल्का रूपमा प्रस्तुत गर्ने गरेको आरोप लगाएका छन्।
सोमबार गृहजिल्ला झापामा मतदाता तथा स्थानीय कार्यकर्तासँगको भेटघाटका क्रममा उनले आफूले शास्त्र, इतिहास र राष्ट्रको दीर्घकालीन भविष्यसँग सम्बन्धित गम्भीर विषय उठाउँदा त्यसलाई “उखानटुक्का” भनेर उडाउने प्रवृत्ति बढेको बताए। ‘मैले गहन सन्दर्भ र तथ्यका आधारमा कुरा राख्छु, तर कतिपयले बुझ्न नसकेर वा बङ्ग्याउने उद्देश्यले त्यसलाई मजाक बनाउँछन्,’ उनले भने,’यो उनीहरूको अज्ञानता हो।’
अध्यक्ष ओलीले आफ्नो नेतृत्वकालमा अघि सारिएका रेल सेवा, पानीजहाज सञ्चालन तथा औद्योगिक क्षेत्र स्थापनाजस्ता परियोजनाहरूलाई पनि उपहासको विषय बनाइएको भन्दै असन्तुष्टि जनाए। विकासका काम सुरु हुनासाथ सरकार अस्थिर बनाइने प्रवृत्तिका कारण योजनाहरूले निरन्तरता पाउन नसकेको उनको दाबी थियो।
‘नेपालमा रेल र पानीजहाजको अवधारणा अघि बढाउँदा काम प्रारम्भिक चरणमै थियो, तर सरकार ढालियो,’ उनले भने, ‘यहाँ एउटा कार्यकालको योजना पूरा गर्नै कठिन बनाइएको छ। काम अघि बढ्न लाग्यो कि षड्यन्त्र सुरु हुन्छ।’
झापामा प्रस्तावित औद्योगिक क्षेत्र र दमक रङ्गशालाको सन्दर्भ उल्लेख गर्दै उनले विकासविरोधी शक्तिहरू सक्रिय रहेको आरोप लगाए। रङ्गशालाका लागि आवश्यक जमिन व्यवस्थापन र प्रारम्भिक प्रक्रिया पूरा भए पनि काम अघि बढ्न नदिइएको उनको भनाइ थियो।
‘रङ्गशाला किन बनेन भनेर अहिले मलाई नै प्रश्न गरिन्छ,’ उनले थपे, ‘योजना ल्याउने पनि हामी, तयारी गर्ने पनि हामी, तर कार्यान्वयनमा अवरोध सिर्जना गरियो। अहिले फेरि हामीले त्यसलाई अगाडि बढाएका छौं। अवरोध आए पनि विकासको यात्रा रोकिन्न।’
ओलीले राष्ट्रिय हितका मुद्दामा देशभित्र र बाहिरबाट समेत दबाब र अवरोध आउने गरेको दाबी गर्दै कार्यकर्ताहरूलाई सचेत र एकताबद्ध रहन आह्वान गरे। उनले जस्तोसुकै परिस्थितिमा पनि एमालेले विकास र समृद्धिको एजेन्डा नछोड्ने प्रतिबद्धता दोहोर्याए।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया