कैलाली। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रम कैलालीको चुरे क्षेत्रमा बढ्दै गएको छ। चुरे गाउँपालिका–५, खानीडाँडामा आयोजित एक कार्यक्रममार्फत स्थानीय राजनीतिकर्मीहरू कांग्रेसमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा गोरखबहादुर धामी, सागरबहादुर मगर, बालकृष्ण कँडेल, मान जाग्री, ललित तामाङ र पुरन धामी रहेका छन्। उनीहरूलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार बिष्टले चुरे क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले सडक र सिँचाइ विस्तार, खानेपानी व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवामा सुधारलाई मुख्य एजेन्डा बनाउने बताए। “जनताको चाहना विकास र सुशासन हो। त्यसका लागि कांग्रेसले स्पष्ट योजना र कार्यदिशा अघि सारेको छ,” उनले भने।
नवप्रवेशीहरूले स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर राजनीतिक निर्णय लिएको बताएका छन्।
कार्यक्रममा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले चुरे क्षेत्रको पूर्वाधार विकास, वन तथा वातावरण संरक्षण, रोजगारी सिर्जना र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने धारणा राखेका थिए।
चुरे गाउँपालिका–५ मा एमालेका सक्रिय व्यक्तिहरू कांग्रेसमा प्रवेश गरेसँगै क्षेत्रीय राजनीतिक माहोल थप तातेको छ। स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचन समीकरणमा यस घटनाले प्रभाव पार्ने विश्लेषण गरिएको छ।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया