सर्लाही। सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा आज सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् । जिल्ला अदालतको मूल द्वारमा धर्ना दिँदै उनीहरुले हत्याका दोषिलाई कारवाही तथा कर्मचारीको सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्ने माग राखेका छन् ।

पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका–६ वैशाखा घर भएका सब इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति मलङ्गवा नगरपालिका–१० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका थिए ।

advertisement

सब इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलङ्गवा फर्किएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए । उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

मोटरसाइकलमा आएका व्यक्तिले सब इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर गोली प्रहार गरेको मृतककी श्रीमती पुनम यादवले बताए । उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीको एक खोका बरामद गरिएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायव उपरीक्षक सरोज राईले बताए । गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

हालसम्म गोली प्रहारको कारण खुल्न नसकेको प्रहरी नायव उपरीक्षक राईले बताए । सब इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवा–१० मा डेरामा बस्दै आएका थिए ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com