काठमाडौँ । कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नहुने आदेश दिएको छ।
सोमबार न्यायाधीश नितिश राईको इजलासले सरकारी वकिल कार्यालयले मुद्दा फिर्ताका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेकाले तत्काल मुद्दा फिर्ता गर्न नमिल्ने आदेश गरेको हो। अदालतले सर्वोच्चबाट अन्तिम आदेश आएपछि मात्र थप निर्णय गरिने जनाएको छ।
यसअघि रूपन्देही जिल्ला अदालतले पनि सोही प्रकृतिको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरिसकेको थियो।
महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा निवेदन दर्ता गरेको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते उक्त मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन्।
लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालत, चितवन जिल्ला अदालत, कास्की र रूपन्देही जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएका छन्।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया