काठमाडौं । नेपालले आज भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकपमा आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७:१५ बजे सुरु हुनेछ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्करणमा जितविहीन हुने अवस्थाबाट बाहिर निस्कन प्रयासरत छ। सन् २०१४ को डेब्यु विश्वकपमा नेपालले २ जित निकालेको थियो भने सन् २०२४ मा नेपालले तीन खेलमा हार भोगेको थियो। आजको खेलमा नेपालले आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, नन्दन यादव लगायतका खेलाडीलाई मैदानमा उतार्ने छ। बसिर अहमदले पनि अवसर पाउन सक्ने सम्भावना छ, जसले गुल्सनकुमार झा बेन्चमा बस्नुपर्ने स्थिति सिर्जना हुन सक्छ।

advertisement

स्कटल्यान्ड पनि आफ्नो अन्तिम खेल जितसहित समाप्त गर्ने लक्ष्यमा छ। रिचि बेरिङटनको कप्तानीमा रहेका स्कटल्यान्डले इंग्ल्यान्ड र वेस्ट इन्डिजसँग हार व्यहोरेको थियो भने इटालीमाथि जित हात पारेको छ। जर्ज मुन्से, माइकल जोनस, ओलिभर डेविडसन र ब्राड करी जस्ता खेलाडीले स्कटल्यान्डलाई समर्थन गर्नेछन्।

नेपाल र स्कटल्यान्ड टी–२० अन्तर्राष्ट्रियमा यसअघि दुई खेल खेलिसकेका छन्, जसमा दुवै टोलीले १–१ खेल जितेका थिए। गत वर्षको शृंखलामा नेपालले २ विकेटले जित हासिल गरेको थियो भने स्कटल्यान्डले ३४ रनको जित निकालेको थियो।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com