काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आज (मंगलबार) आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको हेटौँडामा शङ्कास्पद वस्तु फेला परेको छ। हेटौँडा उपमहानगरपालिका वडा नं. १६ स्थित चिसापानीमा “खतरा” लेखिएको शङ्कास्पद वस्तु भेटिएको हो।
प्रहरी मोबाइल मोटरसाइकल गस्ती टोलीले बिहान करिब ५:१५ बजे अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएर धरान–चतरा सडकखण्डको बीच भागमा उक्त वस्तु फेला पारेको थियो। सेतो कपडाले बेरिएको उक्त वस्तुको बाहिरपट्टि “खतरा” लेखिएको देखियो।
सडकको बीचमै वस्तु देखिएपछि केही समय सवारी आवागमनमा अवरोध पनि पुगेको थियो। प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित राख्दै डिस्पोजका लागि नेपाली सेनासँग समन्वय गरेको थियो। नेपाली सेनाको टोलीले बिहान ८:१० बजे उक्त शङ्कास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
डिस्पोजपछि अहिले सडकखण्डमा यातायात सुचारु भएको छ। प्रहरीले उक्त वस्तु कसले र किन राखेको हो भन्ने विषयमा आवश्यक अनुसन्धान जारी राखेको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया