काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा दायर गरेको भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितका प्रतिवादीविरुद्ध सुनुवाइ प्रक्रिया अघि बढेको छ। विशेष अदालतले उक्त मुद्दालाई पेसी तोक्दै सुनुवाइका लागि इजलास गठन गरेको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा मुद्दा पेश हुने भएको छ। आयोगले जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गर्दै नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएको थियो।
आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा कानुनअनुसारको सजाय माग दाबी गरेको छ। अभियोगपत्रमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा उनले पदको दुरुपयोग गरी सरकारी तथा सार्वजनिक सम्पत्ति निजी र संस्थागत स्वार्थमा हस्तान्तरण गराउन भूमिका खेलेको आरोप लगाइएको छ।
अनुसन्धानअनुसार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते बसेको बैठकबाट पतञ्जलिलाई कानुनी हदबन्दीभन्दा बढी जग्गा खरिद–बिक्री गर्न स्वीकृति दिएको उल्लेख छ। त्यस्तै, २०६६ माघ १८ गतेको ठाडो आदेशमार्फत हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिइएको दाबी अभियोगपत्रमा गरिएको छ।
प्रकरणमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको आरोप छ। सोही घटनामा कुल ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ भने आयोगले समग्रमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो असुलउपर गर्न माग गरेको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार
प्रतिक्रिया