काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश जनविद्रोह केवल आन्दोलन मात्र नभएर मधेशको आत्मसम्मानको घोषणापत्र रहेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गोली, दमन र षड्यन्त्रकाबीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि भएको उल्लेख गरेका छन्।

advertisement

यादवले शहिदहरूको बलिदानबाट स्थापित संघीयताको आधारलाई कमजोर पार्न प्रयास भइरहेको आरोप लगाउँदै त्यसको रक्षा गर्ने साहस आफ्नो पार्टीसँग मात्रै रहेको जिकिर गरेका छन्।

उनले लेखेका छन्, मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो मधेशको आत्मसम्मानको घोषणापत्र थियो। गोली, दमन र षड्यन्त्रका बीच उभिएर अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै आज मधेशको वास्तविक प्रतिनिधि हो। शहिदहरूको बलिदानले बनाएको संघीयताको आधारलाई कमजोर पार्न खोज्नेहरू धेरै छन्, तर त्यसको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ।

यादवले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदातासमक्ष अपिलसमेत गरेका छन्। “अब निर्णय तपाईँको हातमा छ—इतिहास लेख्ने कि इतिहास मेट्ने? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि संघर्ष गरेको शक्तिलाई मतदान गरौँ। विभाजन र भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गरौँ। भारी बहुमतले विजयी बनाएर मधेशको आवाजलाई निर्णायक बनाऔँ,” उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com