काठमाडौं। जारी टी–२० विश्वकपमा क्यानडाका खेलाडी युवराज शर्माले ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।चेन्नईमा जारी खेलमा उनले ५८ बलमा शतक पूरा गर्दै ६५ बलमा ११० रन बनाएर आउट भए। आफ्नो आकर्षक इनिङ्समा उनले ११ चौका र ६ छक्का प्रहार गरे। क्यानडाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७३ रन बनाएको छ।
यससँगै शर्मा टी–२० विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट टोलीका खेलाडी बनेका छन्। यसअघि कुनै पनि एसोसिएट टोलीका खेलाडीले टी–२० विश्वकपमा शतक बनाउन सकेका थिएनन्। उनको इनिङ्स यस कारण पनि विशेष मानिएको छ कि उनले यो शतक टेस्ट राष्ट्र न्यूजिल्याण्डविरुद्ध बनाएका हुन्।
विश्वकप बाहेक अन्य टी–२० अन्तर्राष्ट्रिय खेलमा समेत यसअघि एसोसिएट टोलीका खेलाडीले टेस्ट राष्ट्रविरुद्ध केवल दुई पटक शतक बनाएका थिए। ती दुवै शतक आयरल्याण्डविरुद्ध बनेका थिए। सन् २०१९ मा स्पेनका मोहम्मद इहसानले आयरल्याण्डविरुद्ध शतक बनाएका थिए भने सन् २०२३ मा चेक गणतन्त्रका सबावुन दाबिजीले पनि आयरल्याण्डविरुद्ध शतक प्रहार गरेका थिए।
हालको अन्तर्राष्ट्रिय बरियताअनुसार आयरल्याण्ड टेस्ट राष्ट्रमध्ये सबैभन्दा कमजोर टोली मानिन्छ। टेस्ट मान्यता प्राप्त कुल १२ टोलीमध्ये आयरल्याण्ड टी–२० बरियतामा १२औँ स्थानमा छ। जबकि न्यूजिल्याण्ड अन्तर्राष्ट्रिय बरियताअनुसार चौथो बलियो टी–२० टोलीका रूपमा रहेको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया