काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै आवश्यक ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन्।
चितवन–३ मा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनबाट सुरु भएको परिवर्तनलाई निर्णयमा बदल्नका लागि सोवितालाई उम्मेदवार बनाइएको स्पष्ट पारे। उक्त निर्णय व्यक्तिगत नभई सिंगो पार्टीको सामूहिक निर्णय भएको उनको भनाइ थियो।
“चितवन त्यस्तो ठाउँ हो, जहाँबाट रगतको थोपो नबगी क्रान्तिको बिगुल फुकियो। चितवनमा क्रान्ति छ, र त्यो क्रान्तिलाई निर्णयमा बदल्न सोविता यहाँ आउन जरुरी थियो,” उनले भने, “सोवितालाई चितवनमा ल्याउने निर्णय सिंगो रास्वपाको हो।”
लामिछानेले सोविता गौतमलाई एउटा नाममात्र नभई वर्तमान पुस्तालाई प्रेरणा दिने साहसी महिला भएको उल्लेख गरे। “सोविता गौतम एउटा नाम होइन, यो पुस्तालाई प्रेरणा दिने साहसी महिला हो। उहाँलाई उम्मेदवार बनाउने ठाउँको कमी थिएन, तर चितवनबाट सन्देश दिनुपर्ने भएकाले यहाँ ल्याइएको हो,” उनले बताए।
सम्बोधनका क्रममा उनले यसपटक मत परिणाममा बदल्ने समय आएको दाबी गरे। आफू अन्यायमा पर्दा चितवनबासीले दिएको साथ–समर्थनप्रति आभार व्यक्त गर्दै उनले भने, “मेरो तपाईंहरूसँग के नाता थियो र? तर तपाईंहरूले जुन माया र विश्वास दिनुभयो, म ऋणी छु। मसँग बाँकी केही छैन—सत्य छ, इमान छ। त्यसैको बलमा एकसे एक साथीहरूलाई संसद् पुर्याउनेछु।”
यसपटकको निर्वाचन देश र जनताका लागि निर्णायक हुने उनको भनाइ छ। “मुलुकले यसपटक मतपरिणाम मात्रै खोजेको छैन। चुनाव धेरै आए–गए, सरकार धेरै बने–भत्किए। तर यसपटक देशले जित्छ, जनताले जित्छ,” लामिछानेले दाबी गरे।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया