काठमाडौं। बलिउड अभिनेता सलमान खानका बुबा सलीम खानलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म स्वास्थ्य समस्या सम्बन्धी औपचारिक जानकारी सार्वजनिक भएको छैन। तर परिवारका सदस्यहरू अस्पताल पुग्न थालेका छन्।

मंगलबार बिहान सलमान पनि अस्पतालमा देखिएका थिए। उनी बाहिर निस्कँदा केही सुरक्षाकर्मी उनको साथमा थिए। सलीमका छोरी अलवीरा, ज्वाइँ अतुल अग्निहोत्री र आयुष शर्मा पनि बुबालाई भेट्न अस्पताल पुगेका छन्।

advertisement

सलीम खानको जन्म २४ नोभेम्बर १९३५ मा इन्दौरमा भएको हो र हाल उनी ९० वर्षका भइसकेका छन्। उनी हिन्दी सिनेमाका चर्चित पटकथा लेखक हुन्। सलीमले आफ्नो करियर अभिनयबाट सुरु गरेका थिए। १९६० को दशकमा ‘बारात’ फिल्मबाट अभिनय सुरु भए पनि मुख्यतया साना भूमिकामा मात्र काम पाए। करिब दुई दर्जन फिल्ममा काम गरेपछि उनले लेखनतर्फ ध्यान दिएका हुन्।

सलीम-जावेद जोडीले ‘जंजीर’, ‘दीवार’, ‘शोले’, ‘डन’ र ‘सीता और गीता’ जस्ता सुपरहिट फिल्मका कथा लेखेका छन्। यस जोडीले हिन्दी सिनेमामा नयाँ दिशा दिँदै लेखकको पहिचान स्थापित गर्यो। उनीहरूको कथा र संवादले अमिताभ बच्चनको ‘एंग्री यंग म्यान’ छवि स्थापित गर्न ठूलो भूमिका खेलेको मानिन्छ।

व्यक्तिगत जीवनतर्फ हेर्दा सलीमले दुई विवाह गरेका छन्। पहिलो विवाह १८ नोभेम्बर १९६४ मा सलमा खानसँग भएको थियो। यस विवाहबाट सलमान खान, अरबाज खान, सोहेल खान र अलवीरा खान जन्मेका हुन्। दोस्रो विवाह सन् १९८१ मा अभिनेत्री हेलेन रिचर्डसनसँग भएको हो। सलीम र हेलेनले अर्पितालाई धर्मपुत्रीको रुपमा अंगिकार गरेका छन्।

सलमान खान हिन्दी सिनेमाका शीर्ष कलाकारमध्ये पर्छन्। उनका भाई अरबाज र सोहेल पनि फिल्म उद्योगमा सक्रिय छन्। छोरी अलवीरा खानको विवाह अतुल अग्निहोत्रीसँग भएको छ भने अर्पिताको विवाह आयुष शर्मासँग भएको छ।

हाल सलीमको स्वास्थ्य अवस्थाबारे परिवारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। उनका फ्यान र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस खबरपछि चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com