काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नवयुवाहरूले जेनजी आन्दोलनको स्मरण अत्यन्त पवित्र भावनाले गराएको बताएका छन्। भट्टराईले भदौ २३ र २४ गतेका घटनामा राज्यको कमजोरी देखिएको र त्यसमा एमाले मात्र नभई नेपाली कांग्रेस पनि भागीदार रहेको बताएका छन्।
आज फेसबुकमार्फत सार्वजनिक गरेका भिडिओ सन्देशमा उनले भने, “विशेष गरी २३ र २४ जना नवयुवाहरूको निर्ममतापूर्वक हत्या भयो। त्यसमा राज्यको असावधानी प्रस्ट देखिन्छ र हामीले त्यो कमजोरीलाई स्वीकार गर्नुपर्छ। हामी आत्मालोचित छौँ र पटक–पटक यो कुरा दोहोर्याइसकेका छौँ। २४ गते केही आक्रोश सडकमा पोखिनु स्वाभाविक हो, तर त्यतिमात्रै थिएन। २३ गते राज्यको कमजोरी थियो भने २४ गते राज्यविरुद्धको सङ्गठित अपराध र षड्यन्त्र पनि भएको थियो। त्यसैले २३ र २४ गतेलाई अलग ढङ्गले विश्लेषण गर्नुपर्छ।”
भट्टराईले भने, “मलाई लाग्दैन कि घट्नाको जिम्मेवारी केवल एमालेले मात्र लिनुपर्छ। यसमा कांग्रेस पनि समान रूपले भागीदार रहेको छ। निर्वाचनको सन्दर्भमा एमाले र जेनजी नवयुवाबीच उत्पन्न वैमनस्यता वा अन्तर्विरोध लामो समयसम्म रहनु हुँदैन। हामी सहमति र छलफलमार्फत यी अन्तर्विरोधहरूलाई हल गर्दै जानुपर्छ।
उनले भदौ २३ गतेपछि उत्पन्न परिस्थितिप्रति आपसमा आरोप–प्रत्यारोप गरेर समय खेर नफाल्न अपिल गर्दै भने, हामी आत्मआलोचना गरिरहेका छौँ। यो देश सबैको हो र नवयुवाहरूको सक्रियता अझै बढी आवश्यक छ। एमाले प्रगतिशील र जनपक्षीय पार्टी हो।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया