मुगु। कार्मारोङ गाउँपालिका–२ का मुगाल बस्तीका स्थानीयहरू फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न कठिनाइको सामना गर्नुपर्ने अवस्था देखिएको छ। गाउँलेहरू बर्सेनि चिसो छल्न बेंसी झर्छन् र कार्तिक महिनाको अन्तिम सातादेखि वैशाखसम्म स्थायी घरमा ताला लगाएर न्यानो स्थानतिर सर्नुपर्ने भएकाले मतदान केन्द्रसम्म पुग्न सजिलो छैन।
पहिलेका निर्वाचनहरू वैशाख वा जेठमा भएकोले स्थानीयहरू मतदान केन्द्रसम्म पुग्न सक्थे। तर फागुनमा निर्वाचन हुँदा अधिकांश मतदाताहरू आफ्नो अस्थायी बसोबासमा बसिरहेका कारण मतदान गर्न जान कठिनाइ हुने स्थानीयहरूको भनाइ छ।
कार्मारोङ गाउँपालिका–२ मा करिब तीन सय घरधुरी छन्। स्थानीयहरूले कार्तिक अन्त्यदेखि आफ्नो स्थायी घरमा ताला लगाएर चिसो छल्न सिरानी चौर, सदरमुकाम गमगढी, जुम्ला र काठमाडौंसम्म पुग्ने गर्छन्। गाउँमा अहिले गुम्बा पूजा गर्न एक जना लामा मात्र आउँछन्, उनी पनि दुई घण्टा टाढाको सिरानी चौरबाट आवतजावत गर्ने गर्छन्।
स्थानीयहरू भन्छन् कि फागुन २१ मा मतदान गर्न सिरानी चौरबाट दुई घण्टा र गमगढीबाट दुई दिन, जुम्लाबाट तीन दिन लाग्ने भएकाले मतदान केन्द्र पुग्न कठिनाइ हुनेछ। बृद्धबृद्धा र बालबालिकालाई लिएर मतदान गर्न जान अझ गाह्रो छ। सदरमुकाम गमगढीबाट आउने खर्च प्रतिव्यक्ति करिब तीन हजार रुपैयाँ र जुम्लाबाट १० हजारभन्दा बढी पर्छ। एकै घरका तीन–चार जनाले मतदान गर्न गए ३० हजारभन्दा बढी खर्च लाग्ने हुँदा अधिकांश मतदाताहरू मतदानका लागि पुग्न सक्नेमा शंका छ।
गाउँपालिका–२ का वडा अध्यक्ष च्यावा तामाङका अनुसार, मतदान केन्द्रमा कुल ६०९ मतदाता छन्, जसमा पुरुष ३३८ र महिला २७१ छन्। तर चिसो छल्न गाउँ बाहिर पुगेका अधिकांश मतदाताहरू फागुन २१ मा मतदान केन्द्रसम्म कसरी पुग्ने भन्ने चिन्ताले सताइरहेको छ।
स्थानीय कार्मा तामाङ भन्छन्, “गाउँ सुनसान छ। गाउँमा स्थानीय कोही नभएपछि निर्वाचनको प्रभाव कम देखिन्छ। राजनीतिक दलहरू समेत गाउँमा पुग्न सकेका छैनन्।” जुम्ला, काठमाडौं र गमगढीबाट केहि मतदाताहरू आइरहेपनि दुई घण्टा टाढाको सिरानी चौरबाट मतदान गर्न बृद्धबृद्धालाई समस्या छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया