काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेकपा एमाले कार्यक्रमगत रूपमा फरक नभएको टिप्पणी गरेका छन्। मंगलबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यी दलहरू नीतिगत रूपमा एउटै बाटोमा हिँडिरहेको आरोप लगाए।

उनले नाम, नारा र शैलीमा भिन्नता देखिए पनि मूल नीतिमा कुनै अन्तर नरहेको बताए। जनतालाई आकर्षित गर्न मात्रै प्रतिस्पर्धा भइरहेको उनको दाबी थियो। भुसालले पञ्चायतकालको अन्त्यतिर अपनाइएको उदारवादी मार्गलाई प्रजातन्त्र र वर्तमान गणतन्त्रले पनि निरन्तरता दिएको उल्लेख गरे।

advertisement

उनले जनयुद्धबाट आएको दलको घोषणापत्र र नयाँ पुस्ताको दाबी गर्ने दलको करारपत्रमा समेत आर्थिक प्रतिबद्धतामा खासै अन्तर नरहेको बताए। पाँच वर्षभित्र १५० खर्ब रुपैयाँ कुल ग्राहस्थ उत्पादन पुर्‍याउने जस्ता प्रतिबद्धता जनतालाई ढाँट्ने प्रतिस्पर्धा मात्र भएको उनको भनाइ थियो।

भुसालले वर्तमान राजनीतिक प्रवृत्ति जनलुभावनवादतर्फ उन्मुख भएको आरोप लगाए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनलुभावन प्रवृत्तिका अग्रणी व्यक्ति भन्दै अन्य दलका नेताहरू पनि त्यही धारमा रहेको बताए। नेकपा (संयुक्त) भने उक्त प्रवृत्तिभन्दा फरक रहेको उनको दाबी छ।

उनले आफ्नो पार्टी सधैँ प्रतिपक्षको भूमिकामा रहने स्पष्ट पारे। निर्वाचनपछि सरकारमा जाने कुनै दाबी नरहेको उल्लेख गर्दै उनले सीमित समयका कारण सबै क्षेत्रमा उम्मेदवारी दिन नसकिएको जानकारी दिए।

उनका अनुसार नेकपा (संयुक्त)ले प्रत्यक्षतर्फ ३५ जना र समानुपातिकतर्फ १०९ जना उम्मेदवार उठाएको छ। संसद्मा जति नै सिट आए पनि सरकारमा नजाने र प्रतिपक्षमै बस्ने उनको भनाइ छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com