काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्।
शर्माले पार्टीले लिएको पछिल्लो निर्णय, कार्यशैली र पद्धति स्थापनाकालीन मूल्य, विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको उल्लेख गर्दै विज्ञप्तिमार्फत पद त्यागेको जनाएकी हुन्।
उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्, राजनीतिमा युवा पुस्ता आउनुपर्छ’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य र विधानभन्दा ठीक विपरीत भएको अनुभव गरेकी छु।
शर्माले पार्टीमा दिनरात खटिएका क्षमतावान ‘घण्टी मित्र’हरूको योगदानको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत क्रियाकलाप भएको तथा सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छन्। विशेषगरी आर्थिक अनियमितताका आधारमा पार्टीका निर्णयहरू प्रभावित भएको दाबी गर्दै उनले यस्तो अवस्थाको साक्षी बसेर मौन रहन नसक्ने बताएकी छन्।
उनले भनिन्, मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ। यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु।
बाराकी शर्माले मधेसमा रास्वपाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्। उनले मधेसका आठ जिल्लामा पार्टीलाई एकढिक्का बनाउँदै संगठन निर्माण गरेको बताइन्छ। तर टिकट वितरण प्रक्रियामा असन्तुष्टि बढेपछि पार्टीभित्र आन्तरिक विवाद सतहमा आएको थियो।
टिकट बाँडफाँट प्रक्रियामा अन्याय भएको भन्दै उनले पार्टी नेतृत्वसँग पटक–पटक प्रश्न उठाए पनि त्यसको सम्बोधन नभएको उनको आरोप छ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया