काठमाडौं । टर्किस एयरलाइन्सको इस्तानबुल–काठमाडौं उडान अवतरणका क्रममा प्राविधिक समस्या देखिएपछि ‘ओभरसुट’ गर्दै बंगलादेशको ढाका डाइभर्ट गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टीके–७२६ नम्बरको उडान बुधबार बिहान काठमाडौं अवतरण गर्ने क्रममा जहाजमै प्राविधिक गडबडी देखिएको थियो। समस्या देखिएलगत्तै चालकदलले अवतरण प्रक्रिया स्थगित गरी ओभरसुट गरेको र वैकल्पिक विमानस्थलका रूपमा ढाका रोजेको हो।

advertisement

विमानस्थल स्रोतले अवतरणमा आएको अवरोध विमानस्थलको प्राविधिक पक्षसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ। जहाजको सुरक्षालाई प्राथमिकता दिँदै चालकदलले डाइभर्ट गर्ने निर्णय गरेको बताइएको छ।

ए–३३० सिरिजको वाइडबडी जहाज बिहान ११:१० बजे अवतरण गर्ने तालिका थियो। उक्त जहाज निर्धारित समयभन्दा केही अघि काठमाडौं आकाशमा पुगेको थियो।

जहाज ढाकामा सुरक्षित अवतरण गरिसकेको छ। यात्रु र चालकदल सबै सुरक्षित रहेको जनाइएको छ।

यसअघि २१ माघमा पनि सोही एयरलाइन्सको जहाज काठमाडौंबाट उडेको केही मिनेटमै दायाँ इन्जिनमा समस्या देखिएपछि भारतको कोलकाता डाइभर्ट गरिएको थियो।

उता, थाई एयरवेजको  बैंकक–काठमाडौं उडान भने तीव्र हावाका कारण केही समय ‘होल्ड’ गरेपछि सुरक्षित अवतरण गरेको विमानस्थलले जनाएको छ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com