काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले नेपालको अहिले सुधारको आवश्यकता रहेको उल्लेख गर्दै अबको पाँच वर्ष खेर नफाल्ने संकल्पसहित आफूहरूको राजनीतिक रणनीति अघि सार्ने बताएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले देशमा नागरिक तहमा विशेष गरी युवा पुस्तामा बढिरहेको असन्तोषको विषयमा गम्भीर चिन्ता व्यक्त गरे।
थापाले भने, “देश सञ्चालनको वर्तमान शैलीप्रति युवाहरूको गुनासो जायज छ। विगत १०–१२ वर्षमा अपेक्षित विकास हुन सकेको छैन। अबका पाँच वर्ष खेर जान दिन सकिँदैन।” उनले देश परिवर्तनका लागि केवल आवेग, रिस वा उत्तेजना मात्र पर्याप्त नहुने र दीर्घकालीन सुधारका लागि योजना, प्रतिबद्धता र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
उनका अनुसार, नेपालको राजनीति केवल एउटै दलको निर्णयमा मात्र अघि बढ्न सक्दैन। देश निर्माणका लागि सबै राजनीतिक दलको सहभागिता र सहकार्य अनिवार्य छ। राजनीतिक दलहरूसँग विमति र प्रतिस्पर्धा हुने भए पनि राष्ट्रिय हितका लागि साझा मार्ग अपनाउनु आवश्यक रहेको उनको भनाइ थियो।
थापाले पपुलिजमलाई नेपालको वर्तमान लोकतान्त्रिक प्रणालीका लागि ठूलो चुनौतीको रूपमा प्रस्तुत गरे। उनले भने, “आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरू सत्तामा आए त्यसको भार नेपालले सहन सक्दैन। संस्थागत रूपमा कमजोर लोकतन्त्र भएको अवस्थामा पपुलिजमले शक्ति कब्जा गरेमा परिणाम गम्भीर हुनेछ।”
विश्वका परिपक्व लोकतन्त्रहरू पनि पपुलिजमको प्रभावमा पर्ने भए तापनि त्यहाँका संस्थाहरू बलिया भएकाले असर छोटो समयमै घट्ने उनले बताए। तर नेपालमा संस्थाहरू कमजोर भएका कारण पपुलिजमको जोखिम अझै बढी रहेको उनको विश्लेषण थियो।
थापाले नेपाली कांग्रेसले देशमा सबै दललाई समेटेर अघि बढ्ने राजनीति निर्वाह गर्ने भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे। उनले भविष्यका योजना र नीति निर्माणमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य पनि राखेका छन्।
उनको वक्तव्यले आगामी पाँच वर्षमा नेपाली कांग्रेसको विकास, सुधार र स्थायित्वमुखी योजनामा केन्द्रित रणनीति स्पष्ट रूपमा देखाएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया