कैलाली। कैलालीको मोहन्याल गाउँपालिका–१, तल्लोपानीस्थित नवप्रगतिशील सामुदायिक वनमा चार दिनअघि शव फेला परेको महिलाको पहिचान अझै खुलेको छैन। शव शनिबार दिउँसो जंगलमा अनुहार जलेको अवस्थामा फेला परेको थियो।
प्रहरीका अनुसार मृतक महिला करिब ३० वर्षकी देखिन्थिन् र उनको अनुहार जलेको अवस्थामा भेटिएको थियो। जिल्ला प्रहरी प्रवक्ता योगेन्द्र तिमिस्सिना का अनुसार शव फेला परेको चार दिनसम्म पनि पहिचान खुल्न नसकेको हुँदा प्रहरीले सार्वजनिक सूचना जारी गरेको छ।
महिलाले गुलाबी पिंक रङको स्वीटर, कालो फर्मल पाइन्ट र सेतोमा धर्सा भएको मोजा लगाएकी थिइन्। कैलालीका प्रहरी प्रमुख नरेन्द्र चन्द का अनुसार, पोष्टमर्टम रिपोर्ट आउन बाँकी छ र हत्यापछि पहिचान लुकाउन अनुहार जलाएर जंगलमा फालेको हुन सक्ने आशंका गरिएको छ।
यो घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुखडबाट विशेष टोली खटिएको छ। शवको पहिचान नखुलेको कारण चार दिनदेखि अस्पतालमै राखिएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया