काठमाडौं । गगनकुमार थापाले आगामी पाँच वर्षलाई राष्ट्र निर्माणको निर्णायक अवधिका रूपमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बौद्धिक पेसाकर्मी अभियान परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति थापाले विगतमा प्राप्त अवसरहरूको पूर्ण सदुपयोग गर्न नसकिएको स्वीकार गरे। अब भने देशलाई कुनै प्रकारको अस्थिरता वा दुर्घटनामा पर्न नदिई सबै पक्षलाई समेटेर योजनाबद्ध रूपमा अघि बढ्ने स्पष्ट पारे।
उनले पार्टीको प्रतिज्ञापत्रमा पाँच वर्षभित्र देखिने परिणाम दिने स्पष्ट कार्ययोजना समेटिएको जानकारी दिए। इतिहासका विभिन्न मोड र अनुभवबाट पाठ सिक्दै अहिलेको पुस्ताले चाहेको जस्तो समृद्ध, व्यवस्थित र जवाफदेही राज्य निर्माण गर्ने जिम्मेवारी कांग्रेसले लिन चाहेको उनको भनाइ थियो।
थापाले कांग्रेस देश निर्माण गर्न सक्ने सबैभन्दा पुरानो र अनुभवसम्पन्न राजनीतिक शक्ति भएको उल्लेख गर्दै पार्टीका नीति, एजेन्डा र प्रतिबद्धता तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउन आवश्यक रहेकोमा जोड दिए।
नेपाल अहिले व्यापक सुधारको चरणमा रहेको उल्लेख गर्दै उनले सुधारको सुनिश्चिततासहित कांग्रेस निर्वाचनमा होमिएको बताए। देशको दीर्घकालीन हितका लागि सबै राजनीतिक दललाई सहकार्यमा ल्याउने नेतृत्व कांग्रेसले गर्ने उनको धारणा थियो।
लोकतन्त्रलाई कमजोर पार्ने प्रवृत्तिबाट जोगाउन, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न र ठोस परिणाम दिन कांग्रेस समयानुकूल रूपान्तरण भएर अघि बढेको थापाले बताए।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया