काठमाडौं। रास्वपा वरिष्ठ नेता बालेन शाहले सुदूरपश्चिम प्रदेशमा आफूहरू भोटका लागि नभई कामका लागि आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रदेशलाई सु–नजिक बनाउने आवश्यकता औंल्याए।
सभामा उनले भने, ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्यो। रास्वपा यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो। काम दिनुस् है?’ बालेनले आफ्ना शब्दमा स्थानीय तह र प्रदेशको विकासमा रास्वपाले केन्द्रित हुने प्रतिबद्धता दोहोर्याए।
उनले स्पष्ट पारे कि आफूहरूलाई भोट नदिए पनि रास्वपाले सुदूरपश्चिमको समग्र विकासको काम अघि बढाउनेछ। उनले भने, ‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ। हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस्। भोट नदिए पनि हुन्छ, काम दिनुस्।’
बालेनले आफ्नो सम्बोधनमा विकासमुखी कार्य, योजनाको पारदर्शिता, र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने परियोजनामा ध्यान दिने रास्वपाको रणनीति पनि उल्लेख गरे। उनका अनुसार राजनीतिक दलको प्राथमिकता केवल मत संकलनमा मात्र नभई दीर्घकालीन विकासमा हुनुपर्छ।
यसअघि रास्वपाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सामाजिक र पूर्वाधार परियोजना अगाडि बढाउँदै आएका छन्। बालेनको यस भनाइले आगामी निर्वाचनमा मतदातालाई काममुखी दृष्टिकोणमा सोच्न प्रेरित गर्ने आशा गरिएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया