काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा अहिले भागबन्डा र आलोपालो गर्ने राजनीतिले प्रभुत्व जमाएको भन्दै त्यसको आलोचना गरेका छन्। बुधबार ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दिइएको शुभकामना सन्देशमा उनले यस्तो प्रवृत्तिले देशलाई स्थायी निकास नदिने र नेपाल तथा नेपाली समाजको संरचनासँग मेल खाने व्यवस्थाको आवश्यकता रहेको बताए।
पूर्वराजा शाहले भने, ‘हालको दुखद परिस्थितिमा ‘आलोपालो गरेर खाऔँ’ भन्ने सोचले होइन, मिलेर काम गर्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सक्छ।’ उनले प्रजातन्त्रको अर्थ जनता आफैं जागरुक हुनुमा रहेको बताए र भने, वर्तमान व्यवस्थामा कसैलाई खुसी पार्ने वा कसैको आदेशमा बाँधिने प्रवृत्ति देशलाई संकटमा पार्दै आएको छ।
शाहले वर्तमान नेपाली समाजमा अस्वाभाविक छटपटी र देशको अस्तित्व संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको बताए। विगतका आन्दोलन र परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको उनले बताए।
पूर्वराजाले अर्को नेपालीलाई बैरी ठान्ने संस्कृति बढेको बताउँदै यसलाई देशको दुर्भाग्यपूर्ण अवस्था ठहर गरे। साथै, देशको भू–बनोट र समाजको प्रकृतिसँग मेल खाने प्रणाली र व्यवस्था मात्र दिगो र सकारात्मक परिणाम दिन सक्ने बताए।
उनले राजनीतिक नेतृत्व र जनतालाई अरुको भरमा नपर्न र स्वतन्त्र तथा सशक्त रहने चेतावनी दिएका छन्। विश्व सामु नेपालीको शिर उचाल्न सक्ने व्यवस्था नै नेपालको लागि उपयुक्त रहेको उनले जिकिर गरे।
पूर्वराजाले भने, ‘जुनसुकै व्यवस्थाका राम्रा पक्षलाई ग्रहण गर्नुपर्छ र खराब पक्षलाई परित्याग गर्नुपर्छ। विश्वका कतिपय देशले आफ्नो जनताको आवश्यकतालाई प्राथमिकता दिँदै प्रजातन्त्र अभ्यास गरिरहेका छन्, हामीले पनि त्यसबाट सिक्नुपर्छ।’
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया