तनहुँ। तनहुँको देवघाट गाउँपालिका–४ क्षेत्रबाट प्रहरीले दुईथान भरूवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवघाट–४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका छन्।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले रिस्ती खोलाको आसपास क्षेत्रमा गस्ती गर्ने क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। सोही क्रममा साथमा रहेको भरूवा बन्दुक बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार पक्राउ परेकाहरूको साथबाट बारुदजस्तो देखिने कालो पदार्थ तथा केही फलामका टुक्रासमेत बरामद गरिएको छ। ग्रामीण क्षेत्रमा नियमित सुरक्षागस्तीका क्रममा हतियारसहित भेटिएपछि उनीहरूलाई तत्काल नियन्त्रणमा लिइएको उनले बताए।
पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। मंगलबार जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार












प्रतिक्रिया