झापा। केपी शर्मा ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवार तथा नेता–कार्यकर्तालाई जनताको घरदैलोमा पुगेर सक्रिय अभियान चलाउन निर्देशन दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहेका ओलीले फागुन २१ गते तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पुर्याउनुपर्नेमा जोड दिएका हुन्।
काठमाडौं फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न प्रत्यक्ष संवाद आवश्यक रहेको बताए। उनले घर–घर पुगेर मतदातासँग भेटघाट गर्न र परिणाममुखी ढंगले अभियान सञ्चालन गर्न निर्देशन दिएका थिए।
झापा क्षेत्र नम्बर ४ का निर्वाचन परिचालन कमिटी संयोजक मनोज ताम्लीका अनुसार अध्यक्ष ओलीले सबै नेता–कार्यकर्तालाई नतिजा केन्द्रित अभियानमा खटिन आग्रह गरेका छन्। जनतामाझ रहेका भ्रम हटाउन प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिनुपर्ने उनको विशेष जोड रहेको ताम्लीले जानकारी दिए।
बैठकमा झापा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवार तथा परिचालन कमिटीका संयोजकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले हालसम्मको तयारी र अभियानको प्रगतिबारे अध्यक्ष ओलीलाई अवगत गराएका थिए।
उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिएजस्तो अन्य दलको पक्षमा व्यापक जनमत नरहेको दाबी गर्दै प्रत्यक्ष भेटघाट र चुनावी कार्यक्रममार्फत मतदाताबाट एमालेप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन्।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया