काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बदली भएको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
बिहीबार दिउँसो देशका हिमाली क्षेत्रमा सामान्य बदली तथा अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, अन्य पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
तराईका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
आज राति कोशी र बागमती प्रदेशसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेश प्रदेश तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै, तराईका केही स्थानहरूमा तुँवालो लाग्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया