काठमाडौं । दुर्गा प्रसाईं को सचिवालयले ‘हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईंलाई ससम्मान रिहा नगरेको भन्दै नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सचिवालयले सरकारले कुनै ठोस आधारबिना हिरासतमा राखेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।
सचिवालयले विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदम नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि आक्रमण भएको तथा पूर्णतः अलोकतान्त्रिक र अन्यायपूर्ण रहेको उल्लेख गरेको छ। विज्ञप्तिमा प्रसाईंले उठाएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गर्दै उहाँलाई बन्दी बनाइएको आरोप लगाइएको छ। शान्तिपूर्ण रूपमा पटक–पटक रिहाइको माग गर्दा पनि सरकारले बेवास्ता गरेपछि बाध्य भएर कडा आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्दको आह्वान गरिएको छ। बन्दका क्रममा उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठान पूर्ण रूपमा बन्द गरिने जनाइएको छ। साथै, देशभरका प्रमुख चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण प्रदर्शन तथा कोणसभा आयोजना गरिने बताइएको छ।
सचिवालयले वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्था पुनःस्थापना भएपछि मात्र निर्वाचन गर्नुपर्ने माग समेत राखेको छ। साथै, महाअभियानले अघि सारेका २७ बुँदे माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया