काठमाडाैं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर कार्यक्रम राखेको जनाएको छ।
जनकपुरमा बुधबार प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी आजै हुने कार्यक्रममा गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन्।
आज दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञा पत्रका बारेमा सोधिने प्रश्नमा जबाफ दिने भएका छन्।
‘राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नु पर्छ। तपाईँका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी राष्ट्रिय सभा गृहमा हुने छौँ। प्रश्नहरूका साथ कार्यक्रममा उपस्थित भइदिनु हुन् सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु,’ सभापति थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
कार्यक्रम स्थल राष्ट्रिय सभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पाए आगामी पाँच वर्षमा गर्ने कामहरुको खाका प्रतिज्ञापत्रमार्फत सार्वजनिक गरेको छ।
भिजन टेनभित्र समेटिएको प्रतिज्ञापत्रमा आम नागरिकले आज सभापति थापासँग सिधै प्रश्नहरू राख्न पाउने छन्।
नेपालको राजनीतिक इतिहासमा चुनावी घोषणापत्रका बारेमा नागरिकले प्रश्न गर्ने र सम्बन्धित दलका नेताले सार्वजनिक र प्रत्यक्ष रूपमा जवाफ दिने अभ्यास पहिलोपटक हुन लागेको हो।
प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सयौँ संचार माध्यमहरुले पनि प्रत्यक्ष प्रसारण गर्ने भएका छन्।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया