काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, वर्तमान व्यवस्था र राष्ट्रिय सार्वभौमसत्ता विरुद्धको योजनाबद्ध आक्रमणको रूपमा वर्णन गरेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै ओलीले मुलुक अहिले विवेक र आवेगको दोबाटोमा उभिएको बताएका छन्।
अध्यक्ष ओलीले देश बनाउने र भत्काउने दुई फरक सोचबीचको द्वन्द्वले नेपाललाई फेरि प्रयोगशाला बनाउने प्रयास भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले भदौ २३ को आन्दोलनमा बाह्य घुसपैठ भएको दाबी गर्दै, शान्तिपूर्ण घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलेर हिंसा भड्काइएको आरोप लगाए।
ओलीले भने,
भदौ २३ को प्रदर्शनमा कसले घुसपैठ गर्यो? घर फर्कन लागेका युवालाई निषेधित क्षेत्रतर्फ कसले र किन धकेल्यो? यी घटना स्वतःस्फूर्त थिए कि योजनाबद्ध
उनले जेनजी प्रदर्शनकारीका सरकार र व्यवस्थाप्रति कुनै माग नहुँदाहुँदै प्रतिनिधिसभा विघटन गरिनुलाई रहस्यमय ठहर गर्दै, निजी सम्पत्ति, व्यवसायी र सुरक्षाकर्मीलाई निशाना बनाइनुले घटनाको उद्देश्य स्पष्ट भएको तर्क गरे।
राजनीतिक अस्थिरता नै देशको मुख्य विकास अवरोध भएको उल्लेख गर्दै ओलीले ठूला दलहरू मिल्नु संकटको कारण नभई अस्थिरता रोक्ने इमानदार प्रयास भएको स्पष्ट पारे। उनले एमालेसँग मात्र विकास, सुशासन र निर्माणमा स्पष्ट ‘ट्रयाक रेकर्ड’ रहेको दाबी गर्दै, ध्वस्त संरचनाको पुननिर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब आफ्नो पार्टीको काँधमा आएको बताए।
अध्यक्ष ओलीले आम मतदाता र समाज प्रश्नको घेरामा रहेको भन्दै, संविधान र व्यवस्थाको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने पनि बताएका छन्।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया