सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशलाई अब कुनै पनि नेताको “पार्किङ लट” बन्न नदिने उद्घोष गरेका छन्। बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले प्रदेशको संरचना पुनर्विचार (रेट्रोफिट) गरी व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।
उनले भने, ‘हामीले प्रदेश खारेज गर्ने भनेका छैनौँ, तर यसलाई बेढङ्गको होइन, ढङ्गको बनाउनुपर्छ। अब कर्णाली नेता थन्काउने ठाउँ बन्ने छैन।’
सभापतिले आउँदो निर्वाचनलाई देशको भाग्य र भविष्य परिवर्तन गर्ने ऐतिहासिक अवसरको रूपमा चित्रण गर्दै भने, ‘यो सामान्य निर्वाचन होइन, आफ्नै पुस्ताको भविष्यको लागि सोच्ने दिन हो। चुनावले निकास नदिन्छ भन्नेहरूलाई भन्न चाहन्छु—अफर गर्नुहुन्छ भने रोडबाट होस् वा भोटबाट, तर हामी रगतको एक थोपा पनि बगाउन चाहँदैनौँ। हामी भोटबाटै परिवर्तन चाहन्छौँ।’
पूर्वसञ्चारकर्मीको हैसियतमा कालिकोटमा अस्पताल स्थापना गरेको स्मरण गर्दै लामिछानेले कर्णालीसँगको आफ्नो भावनात्मक सम्बन्ध प्रगाढ रहेको बताए। उनले भने, ‘कर्णालीलाई पछाडि पारिएको छ, अब कहिल्यै पछाडि पार्न नदिने बाचा पूरा गर्न हामीले यहाँबाटै बाचापत्र सार्वजनिक गरेका हौँ।’
उहाँले लोकतन्त्रलाई खतरा छ भन्ने विचारमा व्यङ्ग्य गर्दै भने, ‘लोकतन्त्रलाई तब मात्रै खतरा हुन्छ जब हेलिकप्टर फेरि सिंहदरबार वा बालुवाटारमा ल्यान्ड गर्छ। जनताको भाग्य परिवर्तन गर्ने ठाउँमा भने ल्यान्ड नहोस्।’
लामिछानेले रास्वपालाई आगामी पाँच वर्षको लागि स्पष्ट बहुमत दिन मतदातालाई आग्रह गर्दै भने, ‘हामीलाई पाँच वर्ष काम गर्न दिनुस्, सकेनौँ भने अर्को चुनावमा राजनीतिक रूपमा घण्टी बजाएर बिदा गरिदिनुस्। आँट गर्ने नेता को होला? बालेनजी र मलाई हेर्नुस्, हामीले नगरेको आँट कसले गर्ने?’
सभापतिले आफ्नो पार्टीले युवा, महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व सुनिश्चित गरेको दाबी गर्दै मतदातालाई “घण्टी” मा मतदान गरेर पाँच वर्षको स्थिर सरकार बनाउन अपिल गरे।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया