सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व पाए मात्रै १०० दिनभित्र सहकारी संस्थाका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ। बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक गरिएको पार्टीको बाचापत्रमा आम नागरिकको पसिनाको कमाइ सुरक्षित राख्ने योजना स्पष्ट गरिएको छ।
पार्टीका अनुसार, राज्यको तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गरी संकटग्रस्त सहकारी संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी सुरु गरिनेछ। यस अन्तर्गत साना बचतकर्ताबाट सुरु गरी बाँकी रकम क्रमशः फिर्ता गरिने व्यवस्था गरिएको छ।
सभापति रवि लामिछानेले भने, ‘हाम्रो उद्देश्य सञ्चालकलाई मात्र कारबाही गर्नु होइन, बरु बचतकर्ताको पैसा सुरक्षित फिर्ता गराउनु हो। यसका लागि कानुनी मार्गमा मिलापत्र गर्ने व्यवस्था समेत गरिएको छ।’
रास्वपाले बाचापत्रमा उल्लेख गरेको छ कि संकटग्रस्त संस्थाका सञ्चालकहरूले बचतकर्ताको रकम फिर्ता गर्न इच्छुक भए, उनीहरूलाई जेल नराखी नीतिअनुसार सम्पत्ति परिचालन र ऋण असुली गर्न पर्याप्त अवसर दिने व्यवस्था गरिनेछ।
पार्टीको योजना अनुसार यसरी बचत फिर्ता सुनिश्चित गर्दा आम नागरिकको विश्वास कायम राख्ने र सहकारी व्यवस्थामा पारदर्शिता बढाउने उद्देश्य राखिएको छ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार












प्रतिक्रिया