काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको बाचापत्रमा शिक्षक–प्राध्यापकलाई सक्रिय दलीय राजनीतिबाट पूर्ण रूपमा अलग गर्ने घोषणा गरेको छ। पार्टीले विद्यालय तथा विश्वविद्यालयलाई राजनीतिक अखडा बन्न नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको हो।
बाचापत्रमा उल्लेख छ, ‘विश्वविद्यालय र विद्यालयलाई दलीय राजनीतिक गतिविधिबाट मुक्त गरिनेछ। शिक्षक तथा प्राध्यापकको दलीय आबद्धता पूर्णतः निषेध गरिनेछ।’ साथै, शैक्षिक संस्थाभित्र दलगत कार्यक्रम सञ्चालनमा पूर्ण रोक लगाइने र विद्यार्थी संगठनमार्फत हुने अराजकता, तोडफोड तथा जबरजस्ती बन्दजस्ता गतिविधि नियन्त्रण गरिने जनाइएको छ।
विद्यार्थीको विचार अभिव्यक्ति, नेतृत्व विकास र रचनात्मक सहभागितालाई प्रोत्साहन गर्न गैर–दलीय, प्राज्ञिक विद्यार्थी प्रतिनिधित्व प्रणाली विकास गरिने पनि पार्टीको घोषणा छ।
सार्वजनिक शिक्षाको गुणस्तर, पहुँच र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आगामी दुई दशकसम्म उल्लेख्य लगानी वृद्धि गरिने र निजी क्षेत्रको शिक्षालाई सार्वजनिक शिक्षाको परिपूरकका रूपमा व्यवस्थित गरिने उल्लेख गरिएको छ। निजी शैक्षिक संस्थाको शुल्क संरचना, सेवा मापदण्ड, शिक्षक योग्यता, पूर्वाधार र शैक्षिक नतिजाका आधारमा कडा नियमन तथा अनुगमन प्रणाली लागू गरिने बाचा गरिएको छ।
रास्वपाले प्रत्येक प्रदेशमा कम्तीमा एक अत्याधुनिक नमुना समावेशी विद्यालय स्थापना गर्ने तथा देशभरका विद्यालयलाई क्रमशः पूर्ण पहुँचयुक्त र समावेशी बनाउने लक्ष्य अघि सारेको छ। अटिजम, न्युरोडाइभर्सिटी लगायत विशेष आवश्यकता भएका बालबालिकाका लागि अकुपेसनल, स्पिच र बिहेवियरल थेरापी जस्ता समग्र सेवा विद्यालयभित्रै उपलब्ध गराइने योजना पनि सार्वजनिक गरिएको छ।
शिक्षकलाई शिक्षाको मेरुदण्डका रूपमा स्थापित गर्दै योग्यता, क्षमता, निरन्तर पेशागत विकास र स्पष्ट जवाफदेहितामा आधारित प्रणाली लागू गरिने, नियुक्ति तथा पदोन्नति प्रक्रिया पारदर्शी र मेरिट–आधारित बनाइने प्रतिबद्धता जनाइएको छ।
मौलिक सीप र कलाको संरक्षणका लागि ‘गुरु–चेला’ परम्परामा आधारित छात्रवृत्ति तथा तालिम कार्यक्रम सञ्चालन गरी सांस्कृतिक पुनर्जागरण अभियान अघि बढाइने उल्लेख छ।
उच्च शिक्षालाई अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउने लक्ष्यसहित नेपाललाई अन्तर्राष्ट्रिय उच्च शिक्षा केन्द्र (हब) का रूपमा विकास गर्ने योजना पनि बाचापत्रमा समेटिएको छ। विदेशी डिग्री कार्यक्रम सञ्चालनलाई सहज बनाउने र विदेशी अध्यापक तथा विद्यार्थीलाई आकर्षित गर्न भिसा प्रक्रियामा सहजीकरण गरिने प्रतिबद्धता रास्वपाले जनाएको छ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया