काठमाडौं । केन्द्रीय संयुक्त सङ्घर्ष समितिले आगामी संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बिहीबार बसेको बैठकले निर्वाचन बहिष्कारको पक्षमा देशव्यापी कार्यक्रम तय गरेको हो।
बैठकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध नेताहरू सहभागी थिए।
निर्णयअनुसार फागुन ८ देखि १२ गतेसम्म गाउँ, टोल र वडास्तरसम्म पर्चा वितरण, घरदैलो कार्यक्रम तथा कोणसभा गरिनेछ। त्यसैगरी, फागुन १३ देखि १८ गतेसम्म स्थानीय अनुकूलता हेरी इटहरी, जनकपुर, चितवन, काठमाडौँ, बुटवल, दाङ, बर्दिया र धनगढी लगायतका सहरहरूमा बहिष्कार सभा आयोजना गरिने निर्णय भएको छ।
बैठकले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘कठपुतली’को संज्ञा दिँदै धर्मेन्द्र बास्तोला र ऋषि कट्टेलको पक्राउप्रति आपत्ति जनाएको छ। समितिले दुवै नेताको अविलम्ब रिहाइको माग समेत गरेको छ।
समितिले घोषणा गरेका कार्यक्रमहरू निर्वाचन अवधिभर चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया