काठमाडौं । तपाईं टिकटक कत्तिको चलाउनुहुन्छ? रमाइलोका लागि बनाइएको टिकटक अब राष्ट्रिय स्तरमा योगदान दिन सक्ने महत्त्वपूर्ण अवसर बनेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकटक बनाएर निर्वाचनलाई सहयोग गर्न सकिनेछ। यस्तै, यसबाट आकर्षक पुरस्कार पनि प्राप्त गर्न सकिनेछ।

निर्वाचनको माहोल बनाउने, प्रचारप्रसार गर्ने र मतदाता शिक्षा प्रदान गर्न टिकटक प्रयोग गर्न सकिनेछ। निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर टिकटक भिडियो बनाउने अभियान चलाउने भएको हो।

advertisement

प्रतियोगितामा सहभागीले निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षामा आधारित एक मिनेटको टिकटक भिडियो बनाइ आफ्नो सामाजिक सञ्जालमा राख्नुपर्नेछ। आयोगको इमेलमा पनि यही फागुन १७ गतेसम्म भिडियो पठाउन सकिनेछ।

आयोगले सबै भिडियो मूल्यांकन गर्नेछ। सबैभन्दा बढी भ्युअर्स पाएको पहिलो टिकटकलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। भिडियो संवादमूलक, सन्देशमूलक, मौलिक अडियो र अभिनयसहितको हुनुपर्नेछ।

भिडियोमा समावेश हुन सक्ने विषयहरू: निर्वाचनको सामान्य जानकारी, आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने तरिका, निर्वाचन आचारसंहिता पालन, मतदाताको अधिकार र कर्तव्य, र उम्मेदवार छनोट गर्ने सही तरिका।

एक व्यक्तिले एउटै विषयको भिडियो पठाउन सक्नेछन्। दुई वा बढी व्यक्तिले सँगै भिडियो बनाउनु पनि सकिनेछ। आयोगले प्राप्त भिडियो आफ्नो सामाजिक सञ्जालबाट प्रसारण गर्न सक्नेछ। म्याद नाघेका वा तोकिएका शर्त पूरा नगरेका भिडियोलाई स्वीकार गरिने छैन। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगले गर्नेछ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com