काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका निर्वाचन प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी नेपालगन्ज लगिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका हिमा गाउँपालिका–२ का २१ वर्षीय धमेन्द्र रोकायालाई हेलिकोप्टरबाट नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए।
यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत गुठिचौर गाउँपालिका–४ का ७० वर्षीय रत्न शाहीलाई पनि थप उपचारका लागि सोही हेलिकोप्टरमार्फत नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।
बिहीबार जुम्लाको सदरमुकाम खलङ्गा बजारबाट कालिकोटको नाग्म बजारतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा सात जना घाइते भएका थिए।
प्रहरीका अनुसार अन्य घाइतेहरू तिला गाउँपालिका–१ की ३५ वर्षीया मेनुका बुढा, पातारासी गाउँपालिका–४ की २१ वर्षीया माया नेपाली, तिला–२ का २१ वर्षीय पारस रावत, तातोपानी–३ की ४८ वर्षीया कुनी सुनार, तातोपानी–२ का जिप चालक लोकेश खड्का तथा निर्वाचन प्रहरी तिला–२ का टेकेन्द्र रावत रहेका छन्। उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार











प्रतिक्रिया