एजेन्सी । इजिप्टको उत्तरपूर्वी भागमा रहेको पोर्ट सइद प्रान्तमा ट्रक र यात्रुवाहक पिकअप एकआपसमा ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये अधिकांश माछा फार्ममा काम गर्न जाने मजदुरहरू रहेको जनाइएको छ।
सरकारी पत्रिकाका अनुसार दुर्घटना बिहीबार स्थानीय समयअनुसार दिउँसो करिब साढे १२ बजे पोर्ट सइदको दक्षिणतर्फ पर्ने ‘३० जुन एक्सिस’ राजमार्गमा भएको हो। घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगेर उपचार सुरु गरिएको छ।
दुर्घटनालगत्तै सार्वजनिक अभियोजन कार्यालयले घटनाको कारण पत्ता लगाउन अनुसन्धान थालेको छ। सार्वजनिक तस्बिरहरूमा पिकअप दुई ठूला मालवाहक ट्रकबीच च्यापिएको र सडकभरि सवारीका टुक्रा–टुक्रा अवशेष छरिएको देखिन्छ। पिकअपमा सवार मजदुरहरू पोर्ट सइदको तटीय क्षेत्रमा रहेका माछा पालन केन्द्रतर्फ कामका लागि जाँदै गरेको बताइएको छ।
इजिप्टमा सडक दुर्घटना बारम्बार हुने समस्या बनेको छ। अत्यधिक गति, सडकको कमजोर अवस्था र यातायात नियमको उल्लंघनलाई यस्ता दुर्घटनाका मुख्य कारणका रूपमा लिने गरिन्छ। गत वर्ष जुन महिनामा पनि ट्रक र मिनिबस ठोक्किँदा अधिकांश किशोरीसहित १९ जनाको ज्यान गएको थियो।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार











प्रतिक्रिया