काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार रवीन्द्र मिश्रले आफू देश र जनताको सेवामा पूर्ण रूपमा समर्पित हुने बताएका छन्। चुनावी घरदैलो अभियानका क्रममा शुक्रबार काठमाडौँको अनामनगर क्षेत्रमा पुगेका मिश्रले विगतका नेताहरूले जनमत पाए पनि देशको वास्तविक परिवर्तन गर्न नसकेको भन्दै आफू फरक सोचका साथ मैदानमा उत्रिएको बताए।
मिश्रले मतदातासँग कुरा गर्दै भने, ‘यदि जनताले मलाई विश्वास गरेर विजयी बनाउँछन् भने म केवल राम्रा काम गर्नेछु, अन्य कुनै गलत काम नगर्ने वाचा गर्छु।’ उनले आगामी २०–३० वर्षपछि नेपालको रूप कस्तो हुने भन्ने दुरदृष्टिको साथ नीति निर्माण र कानुन निर्माणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार देशभरका महत्वपूर्ण राष्ट्रिय मुद्दाहरू संसद्को माध्यमबाट प्रभावकारी रूपमा उठाउनु उनका मुख्य उद्देश्य हुन्।
स्थानीय समस्याबारे बोल्दै मिश्रले काठमाडौँ–१ का बासिन्दाले भोग्दै आएका खानेपानी, बिजुली, ढल र डुबानजस्ता चुनौतीहरूको समाधानमा स्वयं सक्रिय भएर पहल गर्ने बताए। उनले घरदैलोमा भने, ‘जनतालाई समस्या परेको खण्डमा म आफैं उपस्थित हुनेछु र समाधानका लागि सम्पूर्ण प्रयास गर्नेछु।’
मिश्रले विकासका योजनाहरू केवल कागजमा सीमित नराखी व्यवहारमा लागू गर्न पनि मतदातासँग सहयोगको अपील गरे।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया