दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा आफूहरूबाट नजलाइएको स्पष्ट पारेको छ । पार्टीले घटनाको निष्पक्ष छानबिन गरी संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ ।
विहीबार राति दाङको तुलसीपुर बजार क्षेत्रमा केही व्यक्तिहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएका थिए । उक्त घटनापछि राजनीतिक वृत्तमा आरोप–प्रत्यारोप सुरु भएको छ ।
एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यले विज्ञप्ति जारी गर्दै झण्डा जलाउने कार्यमा रास्वपा कार्यकर्ताको संलग्नता रहेको दाबी गरेका थिए । उनले यस्तो गतिविधिलाई ‘अपरिपक्वताको पराकाष्ठा’ भन्दै कडा शब्दमा आलोचना गरेका थिए ।
तर रास्वपा सभापति रवि लामिछानेले एमालेको आरोपको खण्डन गर्दै आफ्नो पार्टीको कुनै संलग्नता नरहेको बताएका छन् । त्यसैगरी रास्वपा दाङ जिल्ला सभापति बिनय घिमिरेले पनि छुट्टै विज्ञप्ति जारी गरी पार्टीको नाम जोडेर गरिएका आरोप निराधार रहेको जनाएका छन् ।
‘रास्वपाको बढ्दो जनसमर्थनलाई बदनाम गर्ने उद्देश्यले गरिएको यस्तो निन्दनीय कार्यमा हाम्रो पार्टीको कुनै पनि संलग्नता छैन,’ विज्ञप्तिमा उल्लेख छ । पार्टीले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया