काठमाडौं । रामेश्वर खनालले फागुन २१ मा निर्वाचन नहुने भन्ने संशय हटेको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले सरकार गठनपछि सुरुआती ५–६ हप्तासम्म निर्वाचन हुने–नहुनेबारे आम नागरिक र राजनीतिक वृत्तमा आशंका रहे पनि अहिले त्यो अन्योल अन्त्य भएको बताए।
उनले प्रारम्भिक दिनहरूमा जेलबाट भागेका कैदी, हतियार बाहिरिनु, तथा पुराना पुस्ताका नेताहरूसँग संवादको अभावजस्ता चुनौतीका कारण निर्वाचन सम्भव हुनेमा ठूलो संशय उत्पन्न भएको स्मरण गरे।
“सरकार बनेको केही हप्तासम्म निर्वाचन हुँदैन कि भन्ने गम्भीर आशंका थियो। तर निरन्तर संवाद र दलहरूसँगको सहकार्यबाट त्यो संशय हटाउन सफल भएका छौं,” उनले भने।
खनालले सरकारका सामु संशयलाई भड्किन नदिई संयमतापूर्वक समाधान गर्नु ठूलो चुनौती रहेको उल्लेख गर्दै त्यस क्रममा पर्यटन क्षेत्रलगायतका केही कामहरू अपेक्षाअनुसार अघि बढ्न नसकेको स्पष्ट पारे।
उनले मुलुकलाई निर्वाचनमा लैजान अन्तरिम सरकारले कतिपय बजेटीय कार्यक्रम कार्यान्वयन नगरेको पनि जानकारी दिए। साथै दिगो पर्यटन विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने दिशामा सरकार केही हदसम्म सफल भएको दाबी गरे।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार












प्रतिक्रिया