दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट हटाउन सकिए पनि जनताको मनबाट हटाउन नसकिने बताएका छन् । शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।
घोराही पर्ने दाङ क्षेत्र नम्बर–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेल उम्मेदवार रहेका छन् । सोही सन्दर्भलाई जोड्दै लामिछानेले आफ्नो अभिव्यक्ति राखेका थिए ।
सभामा उनले सुशासनको पक्षमा काम गरिरहेका बेला आफूविरुद्ध षड्यन्त्र रचिएको दाबी गरे । ‘रास्वपा सधैं जनताको हित र सुशासनका पक्षमा उभिने पार्टी हो,’ उनले भने, ‘हामी सरकारमा रहेर काम गरिरहेका बेला बा (केपी ओली) र उनका निकट व्यक्तिहरूले मलाई जेल पठाए । तर सक्छन् भने जनताको मनबाट हटाएर देखाउन् ।’
लामिछानेले आफूलाई जेल पठाउने शक्तिहरूलाई आगामी फागुन २१ गते हुने निर्वाचनमार्फत जनताले नै जवाफ दिने विश्वास व्यक्त गरे । ‘भ्रष्टाचारका फाइल खोल्न लागेको बेला मध्यरातमा प्रहरी परिचालन गरेर जेल पुर्याउनेहरू यही क्षेत्रबाट चुनाव लड्दैछन् भन्ने सुनेको छु,’ उनले भने, ‘यसको जवाफ मतपेटिकाबाटै दिनेछौं ।’
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया