बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशका संस्थापक सदस्य, बारा जिल्लाका सह–सचिव तथा संगठन प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् । उनले आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
चौधरीले ‘राजनीतिमा युवा पुस्ताको सहभागिता’ र ‘जान्नेलाई छान्ने’ भन्ने मूल नाराबाट प्रभावित भई आफू रास्वपामा आबद्ध भएको उल्लेख गरेका छन् । तर आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन प्रक्रियासम्बन्धी पार्टीले अपनाएको पद्धति, निर्णय र कार्यशैली स्थापना कालीन मूल्य–मान्यता, पार्टी विधान तथा सार्वजनिक प्रतिबद्धतासँग मेल नखाने निष्कर्षमा आफू पुगेको उनले बताएका छन् ।
उनका अनुसार संगठनमा सक्रिय रूपमा योगदान दिएका सदस्यहरूको उचित मूल्यांकन हुन सकेको छैन । साथै, विधि र विधानविपरीत गतिविधि भइरहेको तथा पार्टीले घोषण गरेका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको आरोप उनले लगाएका छन् ।
चौधरीले पार्टीका केही निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको दाबीसमेत गरेका छन् । यस्तो अवस्थाप्रति मौन रहन नसकिने निष्कर्षसहित आफूले पार्टीबाट अलग हुने निर्णय लिएको उनको भनाइ छ ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया