काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराका अनुसार बिहीबार राति करिब साढे ९ बजे दाङको वीरेन्द्र चोकमा आयोजित कार्यक्रममा झण्डा जलाइएको भिडियो सार्वजनिक भएको थियो। उक्त कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वागतका लागि आयोजना गरिएको थियो।
भिडियो सार्वजनिक भएपछि बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ भने संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया